फिफा महिला विश्व कपमा जर्मनी र नाइजेरियाको जित

ब्राजिलले महिला फुटबलमा २००७ को संस्करणबाहेक फाइनलमा स्थान बनाउन सकेको छैन

एजेन्सी
जेठ ३१, २०७६, शुक्रबार

 फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई १–० गोलले हरायो ।

समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कन पर्याप्त मौका पाएको थियो । उसले जर्मनीको डिफेन्सलाइन क्लियर गर्न सकेन । स्पेनले दुई वटा उत्कृष्ट मौका पाएपनि गोल गर्नबाट चुक्यो ।

यो जितले जर्मनीको दुई खेलमा ६ अंक भएको छ । यसका साथै जर्मनी समुह बी शीर्ष स्थानमा उक्लिएको छ । स्पेनको दुई खेलमा तीन अंक रहेको छ ।

फिफा महिला विश्वकप फुटबलको अर्को खेलमा नाइजेरियाले पहिलो जित निकालेको छ । समूह ए को खेलमा नाइजेरियाले दक्षिण कोरियामाथि २–० को जित निकाल्न सफल भएको हो ।

नाइजेरियाले पहिलो खेलमा नर्वेसँग पराजित भएको थियो । दक्षिण कोरियामाथि २–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ । नाइजेरियाको जितमा दक्षिण कोरियाले एक गोल उपहार दिएको थियो ।

कोरियाकी डो योन किमले बल क्लियर गर्न नसक्दा आफ्नै पोष्टमा प्रहार गरेकी थिइन् । आत्मघाति गोलमार्फत अग्रता लिएको नाइजेरियाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

एसिस्ट लामिना ओसालाले गोल गर्दै २–० को अग्रता दिलाएकी हुन् । त्यसपछि थप गोल नभएपछि दक्षिण कोरिया फिफा महिला विश्वकपमा लगातार दोस्रो खेलमा पराजय हुन पुग्यो ।

महिला विश्वकपको समूह सी को आफनो दोश्रो खेलमा अष्ट्रेलियाले ब्राजिलको विहीबार बेलुकी पौने दश बजे सामना गर्दैछ । पुरुष फुटबलमा सनसनी मचाएको ब्राजिलले महिला फुटबलमा २००७ को संस्करणबाहेक फाइनलमा स्थान बनाउन सकेको छैन ।

ला मोसोनमा नेपाली समय अनुसार ९स्४५ बजे सुरु हुने खेलमा दुवै टिमलाई जित अनिवार्य देखिन्छ। भेट्रान स्ट्राइकर क्रिस्टियनको ह्रयाट्रिको मद्दतले जमैकामाथी ३–० गोल अन्तरको जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको ब्राजिल दोश्रो खेलमा जित निकाल्दै नकआउट चरण प्रवेश सहज बनाउने लक्ष्यमा हुनेछ ।

यता, इटालीसँग १–० गोल अन्तरको हार व्यहोरेको अष्ट्रेलिया ३ अंक बटुल्दै तेश्रो पटक नकआउट प्रवेशको संभावनालाई कायम राख्न चाहन्छ ।

यसअघि विश्वकपको तिन भेटमा ब्राजिलले २ खेलमा जित हासिल गर्दा १ खेल पराजित भएको थियो । सन २०१५ को संस्करणमा काइ सिमोनको गोलको मद्दतले अष्ट्रेलिया १–० बिजयी भएको थियो । जितसँगै अष्ट्रेलिया तेश्रो पटक अन्तिम ८ मा प्रवेश गरेको थियो ।

सन् २००७ को संस्करणको क्वाटरफाइनलमा ३–२ गोल अन्तरले बिजयी बन्दै ब्राजिल सेमीफाइनल पुगेको थियो । सन् २०११ मा समुह चरणमा अष्ट्रेलिया १–० ले पराजित बनेको थियो । ब्राजिलले विगत २० बर्षदेखी समुह चरणको कुनैपनि खेलमा पराजय भोगेको छैन ।