वास्तवमा शिखर धवनले छिट्टै खेल्न चाहेको कप्तान कोहलीको प्रतिक्रिया

विश्वकपको समूह चरण नसकिदै धवन टिममा फर्कने छन्

एजेन्सी
जेठ ३२, २०७६, शनिबार

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले चोट बोकेका ओपनर ब्याट्सम्यान शिखर धवन चाँडै खेलमा फर्कने बताएका छन् ।

ओपनर धवनले इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल दौरान हातको चोट बोकेका थिए । जसको कारण धवन तीन साता मैदान बाहिर रहने छन् । तर, कप्तान कोहलीले विश्वकपको समूह चरण नसकिदै धवन टिममा फर्कने बताए ।

‘धवनको प्लास्टर दुई साता हुनेछ । त्यसपछि उनको अवस्था हेरेर हामी निर्णय गर्नेछौँ । हामीलाई आशा छ उनको चोट चाडै निको हुनेछ र लिग खेल र सेमिफाइनल खेल अघि उ उपलब्ध हुनेछ,’ कप्तान कोहलीले भनेका छन् ।

यस्तै कप्तान कोहलीले धवन खेलमा फर्कन आतुर रहेको समेत बताए । ‘हामी उनलाई फिर्ता बोलाउन चाहन्छौ । किनकि, उ वास्तवमा खेल्न चाहन्छ,’ कप्तान कोहलीले भने, ‘मलाई लाग्छ उनको त्यो मानसिकताले चोट ठिक हुन्छ ।’

धवनले अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा बुढी औंलाको चोट बोकेका थिए । अष्ट्रेलियाविरुद्ध धवनले १ सय १७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनकै शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।