४ संचारमाध्यम कालोसूचीमा, ७ मिडियामाथि छानबीन

दसैँअघि काउन्सिलले ३ संचारमाध्यमलाई कालोसूचीमा राखेको थियो

जनसम्मत
कार्तिक २६, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालले विभिन्न ४ संचारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

त्यस्तै, विभिन्न ७ संचारमाध्यमलाई विशेष अनुगमनमा राखी छानवीन गरिरहेको छ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

काउन्सिलले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै ती संचारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गर्नुका साथै विशेष अनुगमनमा राखेर छानवीन थालेको हो।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने संचारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

दसैँअघि काउन्सिलले ३ संचारमाध्यमलाई कालोसूचीमा राखेको थियो।

आइतबार साप्ताहिक पत्रिका १, टेलिभिजन १ र अनलाइन संचारमाध्यम २ लाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो।

काउन्सिलले कालोसूचीमा राखेका संचारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका संचार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ।

कालोसूचीमा पर्ने संचारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन्।

काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत पठाएको छ।

त्यसैगरी, आचारसंहिताकै विषयमा गंभीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले ७ संचार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ।

त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसंचार डटकम, ताजा खबर टिभी र विजीटिभी (युट्युब च्यानल) छन्।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एशोसिएसनको समेत प्रतिनिधित्व हुन्छ।

प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमनसमेत गरिरहेको छ।

बैठकपछि सह–प्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको उल्लेख छ।

हेरौं, काउन्सिलको प्रेस विज्ञप्ति

प्रेसकाउन्सिलनेपाल डट जीओभी डट एनपीमा समाचार छ।