पाकिस्तानविरुद्धको खेलमा भारतीय टिमको ध्यान केन्द्रीत

नटिङगमा बिहीबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टससमेत नभई रद्द भएको थियो । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक पाएका छन्

एजेन्सी
जेठ ३२, २०७६, शनिबार

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलका लागि केन्द्रीत हुने बताएका छन् ।

इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्धको खेलमा अंक बाँडेपछि बोल्दै कप्तान कोहलीले अब पाकिस्तानसंगको खेलका लागि टिमले तयारी गर्ने बताए ।

नटिङगमा बिहीबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टससमेत नभई रद्द भएको थियो । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक पाएका छन् ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल निकै चर्चाको बिषय बन्छ । दुई देशको राजनीतिक द्वन्दको कारणले क्रिकेट चर्चामा रहने गर्छ । विश्वकप अन्तर्गत भारत र पाकिस्तानले आइतबार ओल्ड ट्राफोर्डमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै कप्तान कोहलीले आफूहरु राम्रो क्रिकेट खेलिरहेको कारण पाकिस्तानसँग खेलका लागि चिन्तित नभएको बताए ।

‘हामीले दुई जित निकालेका छौँ । जसले हामीलाई थप आत्मविश्वासी बनाएको छ । हामीले राम्रो क्रकेट खेलिरहेका छौं । त्यसैले हामी चिन्तित छैनौं,’ कप्तान कोहलीले थपे ।

जारी विश्वकपमा भारतले ३ खेलमा ५ अंक जोडेको छ । पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ । दुईबीचको पछिल्लो दुई भेटमा भारतले जित निकालेको छ । तर, सन् २०१७ मा पाकिस्तानले भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी जितेको थियो ।