
प्रेस काउन्सिल नेपालले संचार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ।
नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा संचालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मंगलबार विशेष अपिल जारी गरको हो।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ।
सह–प्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा विशेष अपिलमा युट्युव, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरुको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाएर कार्यान्वयन गरिरहेको उल्लेख छ।
संचार माध्यमअन्तर्गत आवद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवं फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट/अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ।
पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित संचार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गंभीर ध्यानाकर्षण भएको समेत विशेष अपिलमा उल्लेख छ।
‘संचार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गंभीर ध्यानाकर्षण भएको छ’ विशेष अपिलमा उल्लेख छ।
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ।
सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ।
काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ।
‘मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आवद्ध व्यक्तिहरुले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन/प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् ।
यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ’, विशेष अपिलमा भनिएको छ।
सामाजिक सञ्जालले सत्य, तथ्य एवं सन्तुलित सूचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ।
कुनै सूचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ।
आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरुबाट सिर्जित परिस्थितिको सार्वजनिक एवं कानुनी जवाफदेहिता पनि स्वयं सञ्चार माध्यम एवं सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ ।
‘आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ। सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जानेछन’, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ।
प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसंचार माध्यमले झैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु) ले संचालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ।
कानूनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लंघन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
विशेष अपिलमा संचार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै संविधान र कानूनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम संचारमाध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील भएको उल्लेख छ।
संचार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सूचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिलले आग्रह समेत गरेको छ।
साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, बिज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्नेजस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत् काउन्सिलले सचेत गराएको छ।

प्रेसकाउन्सिलनेपाल डट जीओभी डट एनपीमा समाचार छ।