नेपाल पत्रकार महासंघले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
महासचिव रोशन पुरीले बुधवार विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन्।
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सह–सचिवसमेत रहेका कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कार्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासंघले जनाएको छ।
कुटपिटबाट गंभीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको थियो।
महासंघले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेको छ।
‘घटनाको अनुसन्धानका लागि महासंघले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ। मिसन टोलीले आज (बुधबार) देखि नै कार्य थालनी गरेको छ। टोलीले १५ दिनभित्र घटनाको सत्य–तथ्यसहितको प्रतिवेदन पेस गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ।