फिफा वरीयतामा नेपाल ४ स्थान तल 

नयाँ वरीयता अनुसार नेपाल १ सय ६५ औं स्थानमा छ

एजेन्सी, जनसम्मत
जेठ ३२, २०७६, शनिबार

पोखरा । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरीयतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान झरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरीयता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फिफा वरीयतामा आफूभन्दा तलको मलेसियासँग २–० को हार व्यहोरेको थियो । यस्तै, नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ । नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा छन् । छैटौं स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क छन् ।