‘एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौता अवैधानिक छ’

संचार क्षेत्रका तीन संस्थाको आरोप छ, ‘(क्यान) ले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा गंभीर गल्ती गरेको छ’

जनसम्मत
मंसिर ४, २०८१, मंगलवार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको संचार क्षेत्रका ३ संस्थाले आरोप लगाएका छन्।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया एलाइन्सले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा (क्यान) ले गंभीर गल्ती गरेको आरोप लगाएका हुन्।

(क्यान) ले एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्ससँग गर्ने सम्झौता गरेको छ।

सम्झौता गर्ने क्रममा (क्यान) ले गंभीर त्रुटि गरेको ३ संस्थाको आरोप छ।

संयुक्त विज्ञप्तिमा ‘केही कानुनी र केही नैतिक तथ्यहरूमा अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भूलवस हुन गएको’ आरोप लगाइएको छ।

‘सरकारले विदेशी च्यानलहरूमाथि लागु गरेको विज्ञापनरहित नीति र नियमहरू क्यानले एनपीएल प्रत्यक्ष प्रसारणको क्रममा उल्लंघन गर्न सक्दैन’, विज्ञप्तिमा उल्लेख छ।

सम्झौताको क्रममा (क्यान) ले देशको कानुन उल्लंघन गरेको ३ संस्थाको जिकिर छ।

प्रतियोगिताका खेलहरूको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा बिना प्रतिस्पर्धा एउटा विदेशी कम्पनीलाई दिएको र (क्यान) जस्तो सार्वजनिक संस्थाले नेपालको कानूनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं. २ लाई पूर्ण बेवास्ता गरेको ३ संघको आरोप छ।

हेरौं, संयुक्त प्रेस विज्ञप्ति

मिडिया र सामाजिक सञ्जालहरुमा समाचार छ।