‘स्थानीय तह निर्वाचनमा संचार जगतको विशेष भूमिका रहन्छ’

दुस्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न/नगराउन प्रेस काउन्सिलको अपिल

जनसम्मत
मंसिर ६, २०८१, बिहीवार

प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका रहेको बताएको छ।

काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।

काउन्सिलले भनेको छ, ‘आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका छ। मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेछ।’

प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत/सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोप–प्रत्यारोप, दुस्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण हुनसक्ने, कुनै एक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताविरुद्ध घृणास्पद अभिव्यक्ति आउनसक्ने, गलत सूचना, दुस्प्रचार हुन सक्नेतर्फ सचेत रही त्यस्ता मिथ्या, दुस्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गरेपश्चात स्थान दिन एवं कसैको पक्ष वा विपक्षमा नलाग्न र र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्न/गराउन अपिल छ।

सामाजिक सञ्जालबाट समेत पक्ष÷विपक्षमा कुनै सन्देश, नियोजितरूपमा गलत, मिथ्या सूचना, अफवाह फैलाउने कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गंभीर प्रश्न उठ्ने हुँदा संचार माध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्था, सामाजिक सञ्जालका प्रयोगकर्ताबाट यसप्रकारका गतिविधि नगर्न/नगराउन अपील गरिएको हो।

मत सर्वेक्षणका सम्बन्धमा पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा ‘पत्रकार तथा संचार माध्यमले कुनैपनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्ने, यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाई प्रस्तुत गर्नुपर्ने’ व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने’ व्यवस्था छ।

त्यस्तै, निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, अनलाइनजस्ता विद्युतीय माध्यममा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको हुँदा त्यसतर्फ ध्यान दिन विज्ञप्तिमार्फत प्रेस काउन्सिलले सम्वद्ध सबैलाई आव्हान गरेको छ।

प्रेस काउन्सिल नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्न सदैव क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ।

यही मंसीर १६ गते ३३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ।

मंसीर २ गतेदेखि लागु हुनेगरी निर्वाचन आचारसंहिता जारी भइसकेको छ।

हेरौं, काउन्सिलको विज्ञप्ति