शुरु भयो नेपालमा मनसुन, देशभर फैलन केही समय लाग्ने

साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आंकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । नेपालमा मनसुन शुरु भएको छ ।

मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ ।

नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।

साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आंकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थानविशेषको लामो समय (करीब ३० वर्ष)को औसत वर्षालाई बुझिन्छ ।

वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ ।