विप्लवसँग वार्ता टोली गठन गरेपनि कुनै प्रगति हुन नसकेको (नेकपा) अध्यक्ष प्रचण्डको प्रतिक्रिया

मिडिया काउन्सिललगायत विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेछ

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘विप्लवले लिएको बाटो देश र उनका लागि पनि हितकर छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मङ्लबार मात्र गुठी विधेयक फिर्ता लिएको प्रसंग उल्लेख गरे । उनले भने, ‘सरकार जनताप्रति जिम्मेवार छ र पेलेर जाने पक्षमा छैन भन्ने स्पष्ट देखिएको छ ।’

दाहालले मिडिया काउन्सिललगायत विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिए । उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याइएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको धारणा व्यक्त गरे । अध्यक्ष दाहालले आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताए ।

दाहालले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुन्छ । बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको हो । यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत् विषय टुंग्याउने ढंगले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन ।’

उनले पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएको उल्लेख गरे । यी विषय नयाँ नभएको उनको भनाई थियो ।

अध्यक्ष दाहालले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताए ।

‘राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ,’ उनले भने, ‘पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सह्य हुँदैन ।’

पार्टीलाई गतिशील बनाउँदै जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रुप दिने कसरत भइरहेको जानकारी दिए । एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र शनिबार सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने पनि उनले जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको पनि बताए । उनले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको जानकारी दिए । पहिलो वर्षलाई आधार वर्षका रुपमा लिई यस अवधिमा संवैधानिक, कानूनी एवं विकास पूर्वाधारका काम अघि बढेको उल्लेख गरे ।

उनले भने, ‘यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्वपूर्ण उपलब्धि भएको छ ।’