गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकियो

चालु आर्थिक वर्षमा १० हजारलाई स्वरोजगारसहित रोजगारी सृजना गरेको छ

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ ।

असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो ।

बजेटमाथिको छलफलको अन्तिम आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सांसदद्धारा बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

जवाफ दिने क्रममा मन्त्री गुरुङले बजेट लक्षित वर्गलाई केन्द्रीत गर्दा वितरणमुखी जस्तो देखिएको स्वीकार गरे । उनले उद्यम गर्न चाहनेप्रति बजेट केन्द्रीत रहेको तर्क गरे ।

‘बजेट ऋण गरेर भएपनि उद्यम गर्न चाहनेहरुप्रति केन्द्रीत छ,’ मन्त्री गुरुङले भने, ‘पाँच वर्षभित्रमा प्रदेश सरकारलाई आन्तरिक राजस्वबाटै चालु खर्च धान्ने बनाइनेछ । सरकारले नागरिकलाई कर तिर्न प्रोत्साहन गरी आन्तरिक राजश्व बढाउनेतर्फ सरकार लाग्नेछ ।’

मन्त्री गुरुङले निर्वाचन क्षेत्र विकास कार्यक्रम कुनै एउटा सांसदलाई मात्र नभई प्रत्यक्ष र समानुपातिक दुवै सांसदको समान हैसियतमा कार्यान्वयन हुने बताए ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने र समग्र गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागिपनि बजेट छुट्याइएको जानकारी दिए । चालु आर्थिक वर्षमा १० हजारलाई स्वरोजगारसहित रोजगारी सृजना गरेको मन्त्री गुरुङको भनाई थियो ।

यसैवीच बिनियोजन विधेयक विधेयक २०७६ प्रदेश सभामा टेबुल भएको छ । गण्डकी प्रदेश सभाको विहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बिनियोजन विधेयक प्रदेश सभामा टेबुल गरेका हुन् ।

शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बिनियोजन विधेयकमाथिको दफावार छलफल शुरु हुनेछ ।