तनहुँको यातायात र पूर्वाधार कार्यालयमा गण्डकी प्रदेश भौतिकमन्त्री केसीको निरीक्षण

‘तनहुँ यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ’

जनसम्मत
मंसिर १३, २०८१, बिहीवार

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन्।

मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो।

निरीक्षणका क्रममा मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए।

निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै दवावमा काम गर्नुपरेको सुनाए।

ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको उनले जानकारी गराए।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए।

ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमितताको गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिए।

‘व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुर्पर्छ। जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नुस्। राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोडिदिनुस्। त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नुस्’, मन्त्री केसीले सुझाव दिए।

यातायात कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए।

कार्यालयमा चालु आर्थिक वर्षमा १ अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ।

त्यसमध्ये, २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए।

कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ योजनाहरु छन्।

कुल योजनामध्ये ४० आयोजनाको बोलपत्र आह्वान हालमात्रै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले जानकारी दिए।

मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिएका छन्।

काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दुःख पाउने काम नगर्न मन्त्री केसीको आग्रह छ।