पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट

महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्

जनसम्मत
मंसिर १४, २०८१, शुक्रबार

पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट हुँदैछ।

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मंसीर २७ गतेसम्म चल्नेछ।

पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।

महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्।

महोत्सवमा पर्यतीय सभ्यता, कला, संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ।

महोत्सवको पहिलो दिन मंसीर २३ गते का दिन ‘पर्वतीय जीवन, अनुकूलन र भविष्य’ विषयक अन्तक्रिया हुनेछ।

दोस्रो दिन मंसीर २४ गते ‘पर्वतीय पर्यटनका संभावना र अवसर’बारे विज्ञहरुले आफ्नो अभिमत राख्ने र तेस्रो दिन मंसीर २५ गते ‘पहाडी क्षेत्रमा शौचालयको महत्व’ बारे अन्तक्रिया हुनेछ।

त्यस्तै, महोत्सवको चौथो दिन मंसीर २६ गते अनुभवी पर्वतारोहीहरुसँग ‘पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी संभावना’बारे छलफल हुनेछ।

अन्तिम दिन मंसीर २७ गते ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श’ गरिने जनाइएको छ।

महोत्सवमा अबलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले जानकारी दिए।

पर्वतारोहण संघका सल्लाहकार डा गणेश गुरुङले पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट विशिष्ट रहने बताए।

यस पटकको महोत्सवमा ५० हजार जनाले अवलोकन गर्ने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्।