पोखरामा बीच भलिबल शुरु, पुरुषतर्फ गण्डकी ‘ए’ को जित

पुरुषतर्फको गण्डकी ए र नेपाल पुलिस बी बीचको उद्घाटन खेलमा गण्डकीले २१–१२ र २१–१२ को सोझो सेटमा नेपाल पुलिसलाई हरायो

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा ।  पोखरामा छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । पोखराको फेवाताल किनार वाराहीघाट बीच भलिबल कोर्टमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिता अन्तरगत पुरुषतर्फको गण्डकी ए र नेपाल पुलिस बी बीचको उद्घाटन खेलमा गण्डकीले २१–१२ र २१–१२ को सोझो सेटमा नेपाल पुलिसलाई हरायो । पुरुषतर्फकै आर्मी ए ले कर्णाली बी लाई २१–५ र २१–१३ को सोझो सेटले हरायो । पुरुषतर्फको नेपाल पुलिस ए ले एपीएफ ए लाई २१–१८ र २१–९ को सोझो सेटले हरायो ।

त्यसैगरी, आर्मी बी ले कर्णाली ए माथि २१–१२ र २१–१९ को सोझो सेटले हरायो । प्रदेश ३ ले प्रदेश लाई २१–१३, १७–२१ र १५–११ को जित निकाल्यो । त्यस्तै अन्तिम खेल सुदरपश्चिम र प्रदेश १ बीचको खेल समय अभावले स्थगित हुन पुग्यो । पहिलो सेटमा प्रदेश १ ले

सुदुरपश्चिमाथि २१–१५ ले पहिलो सेट जितेको थियो । दोस्रो सेटमा प्रदेश १ को ६ र सुदुरपश्चिमको ८ अंक हुँदा साँझ परेकोले प्रदेश १ र सुदुरपश्चिमबीचको उक्त खेल स्थगित हुन पुगेको थियो ।

त्यसैगरी, महिलातर्फको सशस्त्र प्रहरी बलको एपीएफ ए ले प्रदेश ५ बी लाई २१–१४ र २१–२ ले हरायो । त्यस्तै, महिलातर्फको नेपाल पुलिस क्लब बी ले गण्डकीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हरायो । त्रिभुवन आर्मीले प्रदेश ३ बी लाई २१–१३ र २१–६ को सोझो सेटले हरायो । नेपाल पुलिस ए ले एपीएफ बी लाई २१–६ र २१–१२ ले हरायो ।

यसअघि, प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयको गरी १० वटा निकायको महिला र पुरुष दुवैतर्फ २÷२ वटा टिम गरी ४० वटा टिमको सहभागिता हुने बताइएपनि हाल पुरुषतर्फ १७ टिम र महिलातर्फ १४ टिमको मात्रै सहभागिता छ ।

प्रतियोगितामा प्रदेश २ बाट महिला÷पुरुषको कुनैपनि टिमको सहभागिता छैन । त्यस्तै गण्डकी प्रदेशबाट पनि महिलाको १ टिमको मात्रै सहभागिता छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट पनि महिलातर्फ १ टिमले मात्र सहभागिता जनाएको छ । प्रदेश ५ बाट पुरुषतर्फको १ टिमको मात्रै सहभागिता छ । सुदुर पश्चिमबाट महिलाको दुबै टिमको सहभागिता रहेको छैन ।