बीच भलिबल प्रतियोगितालाई बजेटको अभाव हुन दिइने छैन : अध्यक्ष प्रचण्ड

खेलकुद राष्ट्रिय एकताको माध्यम पनि हो

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । पोखराको फेवाताल किनारमा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

अध्यक्ष दाहालले कार्यक्रममा बोल्दै वीच भलिबल प्रतियोगिताका लागि बजेटको अभाव हुन नदिने औंल्याए ।  अध्यक्ष दाहालले खेलकुदको क्षेत्रलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । उनले खेलकुद राष्ट्रिय एकताको माध्यम बनेको उल्लेख गरे । पर्यटन प्रबद्र्धनका लागि पनि खेलकुदको क्षेत्रमा पर्याप्त रकमहरु खर्चनुपर्नेमा उनको जोड थियो ।

‘खेलकुद, राष्ट्रिय अनुशासन र सभ्यताको पनि आधार हो,’ उनले भने, ‘खेलकुद, स्वस्थ समाज निर्माणको माध्यम पनि हो । खेलकुद आर्थिक क्रियाकलापको पनि मुख्य माध्यम बन्न गएको छ । पर्यटन प्रबद्र्धनमा खेलकुदले ठूलो महत्व बोकेको छ । विकसित मुलुकहरुले पर्यटन प्रबद्र्धनका लागि खेलकुदमा अरबौ र खरबौं रकमहरु खर्चने गर्छन् । खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा नै हुने गर्दछ । त्यो, पर्यटनको विकास र देशको समृद्धिकरणकै लागि हो ।’

अध्यक्ष दाहालले पोखराको हिमागृह र रत्न मन्दिरलाई जनताका लागि खुला राख्नुपर्नेमा जोड दिए । उनले हिमागृह र रत्न मन्दिरलाई जनताका लागि खुला गर्न सरकारसँग आग्रह गर्ने प्रतिबद्धता जनाए । यसलाई खुला गर्न सके पर्यटकहरुको लागि थप एक दिनको बसाई समेत पोखरामा लम्ब्याउन सहयोग पुग्ने उनको धारणा थियो ।

‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले नारायणहिटी दरबारलाई गणतन्त्रपार्क र जनाताले खुला रुपमा हेर्ने स्थलको रुपमा विकास गर्नुपर्छ भनेर त्यो प्रक्रिया थालेको थिएँ,’ֹ उनले थपे, ‘त्यस प्रक्रियामा हामीलाई सफलता पनि मिल्यो । त्यहाँ हाल नेपाली सर्वसाधारण जनताहरु गएर हिँजोका राजा, महाराजाहरुको गतिविधिहरुलाई नियाल्ने मौका मिलेको छ । तर, मलाई आश्चर्य लागेको छ, यहाँको रत्न मन्दिर र हिमागृहलाई जनताले हेर्न नपाउने गरी लुकाएर राखिएको छ । यसको रहस्य के छ ? भनि प्रश्न उठेको छ ।’

उनले फेवातालको संरक्षण र सम्बद्र्धनका लागि आफूले जिम्मा लिने प्रतिबद्धता जनाए । यहाँका तालहरु पर्यटन व्यवसायको मूख्य आधारहरु भएकोे उनको भनाई थियो । उनले तालहरुको संरक्षणको लागि अधिकार सम्पन्न आयोगसँग संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काम हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सबैको गौरव, हाम्रो कास्की जिल्ला, यहाँको फेवाताल, तालतलैया, यहाँको प्राकृतिक सौन्दर्य, यो सबैको संरक्षण र सम्बद्र्धन गर्ने र यहाँ धेरै पूर्वाधार निर्माण गर्ने कुरा महत्वपूर्ण छ ।’

पोखरा उपत्यकामा व्यवस्थित चक्रपथ बनाउनुपर्नेमा जोड दिए । ‘पोखराको बढ्दो जनघनत्व र ट्राफिक जामको समस्यालाई समाधानार्थ यहाँ चक्रपथको आवश्यक छ । यहाँ रिङरोड बन्दा यहाँको समृद्धि र पर्यटन विकासमा महत्वपूर्ण हुन सक्छ,’ उनले भने, ‘यो कुरा यहाँ मात्रै बोलिएको थिएन । नीति तथा कार्यक्रममा पनि पारिएको थियो । त्यो नीति तथा कार्यक्रममा मात्रै समेटियो । तर, बहुवर्षीय योजनाका रुपमा बजेटमा नपरेकोले त्यो कागजको खोस्टो जस्तै बन्यो । चक्रपथको कुरालाई अगाडि बढाउने काममा पनि मैले पूरै पहल गर्नेछु।’