प्रस्तावित विधेयकले नागरिकका संपूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ : संचारमन्त्री बाँस्कोटा

जनसम्मत
असार ७, २०७६, शनिबार

पोखरा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित सूचना प्रविधि विधेयकले नागरिकका सम्पूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको वताएका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा गठित उपसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफलमा उठेका विषयहरुको जवाफ दिंदै मन्त्री बाँस्कोटाले विधेयक राजनीतिक विचारधाराभन्दा पनि समाजका मूल्य मान्यताका आधारमा ल्याइएको स्पष्ट पारेका छन् ।

मन्त्री बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रता र गाली बेइज्जतीलाई एकै ठाँउमा राखेर हेर्न नमिल्ने भन्दै सरकारले ल्याएका हरेक विधेयकलाई नियन्त्रणका लागि ल्याइएको भनी सोच्न नहुने उल्लेख गरे ।

लोकतन्त्रले आलोचनालाई छुट दिएको भन्दै मन्त्री बाँस्कोटाले बहुलवादी समाजमा सरकारले बन्देज गराउन चाहेर पनि नहुने उल्लेख गरे ।
पछिल्लो समय प्रविधिसँग जोडिएर हुने अपराध बढ्दै गएकाले यसलाई साधारणरुपमा बुझन नहुने मन्त्री बाँस्कोटाको धारणा छ ।

बिधेयमा रहेका विषयहरु संशोधनका लागि समितिले उपसमिति गठन गरी विधयेकलाई पूर्णता दिएपनि केही विषयमा अझै छलफल गर्न बाँकी रहेको समितिकी सभापति कल्याणीकुमारी खड्काले बताइन् । सभापति खड्काले छलफलपछि बिधेयक समितिबाट पास गरिने जानकारी दिइन् ।