श्रीलंकाले इङल्यान्डलाई हरायो

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट

एजेन्सी
असार ८, २०७६, आइतबार

श्रीलंकाले १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डलाई हराएको छ ।

श्रीलंकाका लासिथ मालिंगा चम्किएपछि उपाधि दाबेदारसमेत रहेको इङ्ल्याण्डलाई २० रनले पराजित गरेको हो ।

लिड्समा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्ड मलिंगाको धारिलो बलिङसामु निरिह बन्यो । इङ्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट हुन पुग्यो ।

इङ्ल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन २१ रनमा आउट हुँदा मोइन अलीले १६ तथा जेम्स भिन्सले १४ रन बनाए ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । धनञ्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननञ्जय सिल्भाले २९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्न इङ्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३ विकेट हात पारे । यस्तै आदील रशिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।

यो हारसँगै इङ्ल्याण्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । इङल्याण्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार व्यहोरेको इङ्ल्याण्ड तेस्रो स्थानमा छ ।

इङल्याण्डलाई हराएसँगै श्रीलंकाले शीर्ष ४ मा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ । इङ्ल्यानडलाई जितेसँगै श्रीलंका तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।