साविक विजेता चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

यसअघि, कोपा अमेरिकाको फुटबलमा समूह ‘सी’ कै दक्षिण अमेरिकी फुटबलको बलियो टिम उरुग्वेलाई एसियाली फुटबलको पावर हाउस जापानले २–२ को बराबरीमा रोक्न सफल भएको छ

एजेन्सी
असार ८, २०७६, आइतबार

लगातार दुई खेल जित्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘सी’ मा रहेको चिलीले एक खेल अगाडि नै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

ब्राजिललमा भइरहेको प्रतियोगितामा चिलीले शनिवार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–१ ले पराजित ग¥यो । चिलीको लागि जोस फुएन्जनलिडा र एलेक्स सान्चेजले एक/एक गोल गरे । इक्वेडरका लागि इनर भ्यालेन्सियाले एक गोल फर्काए । ८९ औं मिनेटमा गाब्रीएल एचिलरले रातो कार्ड पाएपछि इक्वेडर दश खेलाडीमा झरेको थियो ।

यसअघिको लिगचरणमा चिलीले जापानलाई पराजित गरेको थियो । लगातार दुई जितपछि चिलीको ६ अंक छ । यस्तै, दुई खेलबाटै उरुग्वेको ४ अंक छ । अब, अन्तिम खेलमा चिली र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजयी हुने टिम समूह विजेता बन्नेछ ।

उरुग्वेसंग बराबरी मात्र खेलेपनि चिली समूह विजेता बन्नेछ । उरुग्वे विजयी भएमा भने उरुग्वे समूह विजेता र चिली समूह उपविजेता हुँदै क्वाटरफाइनल पुग्नेछ । तेस्रो स्थानको जापानले पहिलो अंकको खाता खोलेको छ ।

यस संस्करणमा १२ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । तीनवटै टोलीको समूह विजेता र समूह उपविजेता सिधै क्वाटरफाइनल पुग्नेछन् । यस्तै, तेस्रो हुने तीन मध्ये उत्कृष्ट दुई टोलीले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

यसअघि, दक्षिण अमेरिकी फुटबलको बलियो टिम उरुग्वेलाई एसियाली फुटबलको पावर हाउस जापानले २–२ को बराबरीमा रोक्न सफल भएको छ । कोपा अमेरिकाको फुटबलमा समूह ‘सी’ कै उरुग्वे र जापानले बारबरी खेल्दै अंक बाँडेको छ । समूह चरणको खेलमा उरुग्वे र जापानले २–२ गोलको बराबरी खेलेको थियो ।

खेलको २५ औं मिनेटमा कोजी मियोशीको गोलबाट जापानले अग्रता लिएको थियो । गाकु शिबासाकीको क्रस बललाई सदुपयोग गर्दै मियोशीले टोलीलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

मियोशीले व्यक्तिगत दोस्रो गोल गर्दै ५९ औं मिनेटमा पुनः जापानलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा जोस जिमेनेजले उरुग्वेका लागि बराबरी गोल फर्काए ।