विच भलिबलमा पुरुषतर्फ आर्मी ‘ए’ को मानबहादुर र दिलकुमार, महिलातर्फ एपीएफका विनिता र नेविका च्याम्पियन

प्रतियोगितामा महिलातर्फ एपीएफ ‘ए’ की विनिता चौधरी र पुरुषतर्फ त्रिभुवन आर्मी ‘ए’ का दिलकुमार सुनार बेष्ट प्लेयर

जनसम्मत
असार ९, २०७६, सोमबार

पोखरा । पोखरामा सम्पन्न छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष विच भलिबलमा विभागीय क्लबहरुले नै वर्चस्व कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

महिलातर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीले उचाले । सोमबार विहान भएको महिलातर्फको फाइनलमा बिनिता र नेबिकाको जोडी एपीएफ ‘ए’ ले अर्को विभागीय नेपाल पुलिस क्लब ‘ए’ का निता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३ र २१–१३ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

उपाधिसँगै विजेता बिनिता र नेबिकाले ३० हजार र उपविजेता निता र कोपिलाले २० हजार हात पारेका छन् ।

उता, पुरुषतर्फको उपाधि भने नेपाली सेना त्रिभुवन आर्मी ‘ए’ का मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले जितेका छन् । सोमबार विहान भएको पुरुषतर्फको फाइनलमा मानबहादुर र दिलकुमारको जोडीले गण्डकी प्रदेश ‘बी’ को राजु बि.क. र अर्जुन दर्लामीमगरको जोडीलाई २१–१६, १८–२१ र १८–१६ ले जित्दै च्याम्पियन बन्न सफल भएको हो ।

विजेता आर्मी ‘ए’ को मानबहादुर र दिलकुमारले ३० हजार तथा उपविजेता गण्डकी ‘बी’ का राजु र अर्जुनको जोडीले २० हजारसहित ट्रफी उचाले ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस ‘बी’ मनिषाकुमारी चौधरी र पुष्पा चौधरीको जोडी तेस्रो बने । पुरुषतर्फ गण्डकी प्रदेश ‘ए’ टिमका सञ्जुबिक्रम शाह र रमेश केसीको जोडी तेस्रो बने ।

 

यसअघि, आइतबार तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा मनिषा र पुष्पाको जोडीले विभागीय त्रिभुवन आर्मीका मनिषा खाँड र पुष्पा पल्परियाको जोडीलाई ८–२१, २१–१२ र १५–१२ ले पराजित गर्दै तेस्रो बने ।

त्यस्तै, आइतबार नै भएको पुरुषतर्फको खेलमा सञ्जु र रमेशको जोडीले विभागीय नेपाल पुलिस ‘ए’ टिमका चन्द्र कुँवर र तोरणबहादुर चन्दको जोडीलाई २१–१५, १८–२१ र १५–९ ले हराउँदै तेस्रो भएको हो ।

तेस्रो स्थानजित्न सफल खेलाडीहरुले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ एपीएफ ‘ए’ की विनिता चौधरी र पुरुषतर्फ त्रिभुवन आर्मी ‘ए’ का दिलकुमार सुनार बेष्ट प्लेयर बने । उनीहरुले समान ३ हजार नगद जिते ।

प्रतियोगितामा महिला र पुरुषदुवैतर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमका ६/६ जना खेलाडीहरु नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र मालदिभ्समा हुने एशियन सेन्ट्रल जोन विचभलिबलका लागि छनौटमा परेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष एवं खेलाडी छनौट समितिका संयोजक यामबहादुर गुरुङले जानकारी दिएका छन् । उनीहरुको बन्द प्रशिक्षणपछि अन्तिम छनौटमा महिला र पुरुषतर्फ ४/४ जना खेलाडी छनौट गरिने उनले बताए ।