पोखरा महानगरको बजेट : खेलकुदमा ५ करोड विनियोजन

महानगरपालिको वडा नं २० आँटीघर मौजामा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न आवश्यक गृहकार्य समेत शुरु गरिसकेको छ

जनसम्मत
असार ११, २०७६, बुधबार

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ । महानगरले ७ अर्ब ५४ लाखको बजेट पेश गर्दा युवा तथा खेलकुदको लागि ५ करोडको बजेट छुट्याएको छ ।

उपमेयर मञ्जु गुरुङले मंगलबार पाँचौ नगरसभामा महानगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन् ।

गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण लगायत वडा नम्बर २० स्थित आँटीघरमा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न ३ करोड विनियोजन गरेको उपमेयर गुरुङले उल्लेख गरिन् ।

त्यस्तै, ‘एक वडा, एक खेल मैदान’ निर्माण कार्यलाई निरन्तरता दिन १ करोड बजेट व्यवस्था गरेको छ । महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न ५० लाख विनियोजन गरेको छ ।

‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उल्लेखसहित १६ स्थानमा व्यायाम सामग्री जडानको लागि ५० लाख बजेट व्यवस्था गरेको उल्लेख छ ।

बजेट भाषणमा महानगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको उपप्रमुख गुरुङले उल्लेख गरिन् ।

हाई अल्टिच्युटको खेल मैदान

पोखरा उपत्यकामै एक हाई अल्टिच्युटमा खेल मैदान निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिकाले त्यसको लागि आवश्यक गृहकार्य समेत शुरु गरिसकेको छ । हाई अल्टिच्युटको फुटबल मैदान बनाउन महानगरपालिको वडा नं २० आँटीघर मौजामा योजना अघि सारेको हो ।

खेल मैदान गत वर्षदेखि निर्माण शुरु गरिएको हो । त्यसलाई पूर्णता दिने योजनासहित महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गत वर्ष नै १७ सय मिटर उचाईमा रहेको मौजामा डाँडा कटान गरी मैदान निर्माण कार्य शुरु गरिएको थियो ।

आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको हो । गत वर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । हाई अल्टिच्युडको खेल मैदानलाई आफ्नो गौरवको आयोजनाको लागि महानगरले यो वर्ष एक करोड रुपैयाँ विनियोजन गर्ने अनुमान छ ।