दक्षिण अफ्रिका आइसीसी एकदिवसीय विश्वकपबाट बाहिरियो

यता, पाकिस्तानले भने दोस्रो जित निकाल्दै ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ

एजेन्सी
असार ११, २०७६, बुधबार

पाकिस्तानसँग ४९ रनले हारेपछि दक्षिण अफ्रिका जारी आइसीसी एकदिवसीय विश्वकपबाटै बाहिरिएको छ ।

यता, पाकिस्तानले भने दोस्रो जित निकाल्दै ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ ।

लर्डस क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २५९ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । उनले ७९ बल मा ५ चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, क्वन्टन डीले ४७ रन, एण्डिले फेह्लुक्वायोले ४६, रस्सी भान डर डसेनले ३६, डेबिड मिलरले ३१ र क्रिस मोरिसले १६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका लागि वाहव रिज र शहाव खानले समान तीन विकेट लिए । त्यस्तै, मोहम्मद आमिरले दुई विकेट लिँदा शाहीन अफरीदीले एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निधारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो ।

पाकिस्तानका लागि हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पारी खेले । हरिस ६९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८९ रन जोडे । बाबरले ८० बलमा ७ चौका प्रहार गर्दै ६९ रनको जोडे ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल–हकले समान ४४ रन जोड्न सफल भए । जमानले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे । इमामले ५७ बलमा ६ चौका प्रहार गरे । मोहम्मद हफिजलाई एडेन मार्करामले २० रनमा एलवी डब्लू आउट गरे । इमाद वासिमले १५ बलमा ३ चौका सहित २३, वहाब रियाजले ४ रन बटुले ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले सर्र्वाधिक ३ विकेट लिए । त्यस्तै, इमरान ताहिरले २ विकेट लिँदा एण्डिले फेह्लुक्वाया र एडन मार्करम समान दुई विकेट लिए ।