प्रधानमन्त्री कप टी–ट्वान्टी : खेल रद्दसँगै सुदुरपश्चिम फाइनलमा

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएसँगै प्रदेश २ सँग अंक बाँड्दै सुदुरपश्चिम फाइनल पुगेको हो

जनसम्मत
असार ११, २०७६, बुधबार

पोखरा । सुदुरपश्चिम प्रदेश कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएसँगै प्रदेश २ सँग अंक बाँड्दै सुदुरपश्चिम फाइनल पुगेको हो ।

महेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो ।

प्रतियोगिताको नियमअनुसार सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो । सुदुरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो ।

यसअघि, महेन्द्रनगरमा भइरहेको चौथो प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सोमवारको खेल पनि वर्षाको कारण प्रभावित बनेको थियो । आइतवारदेखि लगातार परेको वर्षाका कारण सोमवार हुने तय भएको दुवै खेल हुन सकेको थिएन ।

सोमबार हुने भनिएको एपीएफ र प्रदेश नम्बर ५ बीचको पहिलो खेल र प्रदेश १ र प्रदेश ३ बीचको दोस्रो खेल रद्ध भएको थियो । खेल नभएपछि चारवटै टोलीले समान एक/एक अंक बाँडेका थिए ।