दुर्गाकुमारीको ‘हिँड्छौ तर्केर’ गीत श्रोतामाझ ल्याउने तयारी

दुर्गाले एकल र दोहोरी गीतको अलावा घाँटु, सोरठी, कौरा, देउडा, झोरा, कल्चरल गीत गाउने गर्छिन्

जनसम्मत
असार ११, २०७६, बुधबार

पोखरा । लोकगायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् ।

‘गीतको अडियो रेर्कड भइसक्यो,’ दुर्गाले भनिन्, ‘गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् ।’

लोक दोहोरी गीतमार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी दुर्गाको उक्त गीतमा गणेश गुरुङले साथ दिएका छन् । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा जन्मिएकी उनी पोखरामा बसेर साँगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।

२०५१ सालमा लोकदोहोरी प्रतियोगतिाको माध्यमबाट साँगीतिक क्षेत्रमा प्रवेश गरेकी गुरुङले २०५३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेकी थिइन् । सोही वर्ष ‘स्याङ्जाडाँडा घुम्तीमा’ बोलको गीत रेकर्ड गराएर साँगीतिक क्षेत्रमा अगाडि बढेकी उनको यात्रा जारी छ । गुरुङ कलाकार संघ कास्कीको अध्यक्ष समेत हुन् ।

हालसम्म १८ वटा एल्बम, निरन्तर तिज गीत र अन्य विभिन्न भाकाका गीत गरेर २५ सयको हाराहारीको गीतहरुमा आवाज भरिसकेकी छन् । लोप हुन लागेको टिपिकल गीत गाउन उनलाई मनपर्छ । पछिल्लो क्रममा टिपिकल मौलीक भाका लोप हुँदै गएकोमा उनी चिन्तित छन् ।

दुर्गाले एकल र दोहोरी गीतको अलावा घाँटु, सोरठी, कौरा, देउडा, झोरा, कल्चरल गीत गाउने गर्छिन् । उनले महेन्द्र पुलिस क्लब, दरबारभित्र आर्मीको व्यारेकलगायतका कल्चरल सेन्टरमा समेत काम गरेर आफ्नो गायन प्रतिभालाई निखारता प्रदान गरेकी छन् । उनले गीत समेत आफै रचना गर्छिन् ।