लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

दैनिक २ समूहका दरले महोत्सव अवधिभर २२ समूहले रत्यौली गीत प्रस्तुत गर्दै आएका छन्

जनसम्मत
पौष २२, २०८१, सोमबार

नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परंपरागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिदैँ आएको छ।

दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो।

जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिदाँसम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालले बताए।

रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भएपनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन्।

महोत्सवका उद्घोषक समेत रहेका शिवहरी ढुंगानाले रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए।

‘मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्छ। त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने गरेको छ। यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन्।

पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन छ। रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन’, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्षसमेत रहेका ढुंगानाले रत्यौलीबारे थप प्रष्ट पारे।

महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिंगो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले वताएकी छन्।

पुसको महिनामा विवाहको लगन नभएपनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिनेगरी रत्यौली गीतलाई स्थान दिएको छ।

दैनिक २ समूहका दरले महोत्सव अवधिभर २२ समूहले रत्यौली गीत प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिएकी छन्।

निर्धारित समयभित्र गीत प्रस्तुत हुन्छ, त्यही गीतको तालमा महिला र पुरुष दर्शक सँगसँगै छमछमी नाच्न पाउँछन् र साथमा लुठो (जोक्कर) ले विभिन्न खालका हँसाउने अभिनय गर्दै स्टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन। बेहुली लिएर आएपछि बेहुला बेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारीत समय सकिन्छ।

महोत्सव अवधि भर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भएपनि प्रस्तुतिका आधारमा भएको छनोटबाट २२ समूहले मात्र प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका थिए।

सहभागी प्रत्येक समूहलाई प्रस्तुतिको आधारमा पुरस्कृत गरिने संयोजक मल्लले बताएकी छन्।

यसैबीच, महोत्सवको पाँचौ दिन सोमवार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।

आर्थिक कारोबारतर्फ २५ लाख बरावरको कारोबार भएको महोत्सवका प्रचार–प्रसार उप समितिका संयोजक जानुका अधिकारीले दावी गरेकी छन्।

‘महोत्सवको पनि महोत्सव’ का रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहनेछन्।

महोत्सवमा ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रुपमा राखिएको छ।