पोखरा महानगर काँग्रेस पक्षधर वडाध्यक्षहरुले च्यातिदिए ‘रातो किताव’

बजेटमा काँग्रेसले जितेका वडाहरुमा विभेद गरिएको उनीहरुको जिकीर छ

जनसम्मत
असार १२, २०७६, बिहीवार

पोखरा । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा मनोमानी गरेको र आफूहरुका कुरा नसुनेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको ‘रातो किताब’ नै च्यातेका छन् ।

काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आफूहरले प्रस्ताव गरेका योजना नसमेटिएको विरोधमा रातो किताब च्यातिदिएका हुन् । बजेटमा काँग्रेसले जितेका वडाहरुमा विभेद गरिएको उनीहरुको जिकीर रहेको छ ।

कांग्रेसवाट निर्वाचित वडाध्यक्षहरुको बिरोधका कारण पाँचौँ नगरसभाको बजेट पेश भएपछि छलफल गर्न बसेको बुधबारको बैठक तनाबपूर्ण बनेको थियो । काँग्रेसका प्रतिनिधिले सभास्थलमा रहेको टेबुल फालिदिएका थिए भने केहीबेर हो–हल्ला समेत गरेको थियो ।

पोखरा महानगरका प्रतिपक्षी दलका नेता रामराज रेग्मीले बजेटमा सबै योजनाहरु केन्द्रीकृत गरिएको र कांग्रेसले जितेका वडाहरुमा बजेट विनियोजनमा विभेद गरिएकाले रातो किताब च्यातिएको बताए । महानगरका प्रमुख मानबहादुर जिसीले आफूहरुको मागबारे उपेक्षा गरेकाले विरोध गर्नुपरेको उनको भनाई छ ।

रातो किताब वितरण नगरी नगरसभामा छलफल गर्न खोजिएपछि काँग्रेसका प्रतिनिधिले विरोध गरेका थिए । पछि रातो किताब ३ बजेतिर वितरण गरियो तर विना छलफल बजेट पास गर्न खोजिएपछि विरोधमा उत्रिएको वडा नं. ९ का अध्यक्ष समेत रहेएका लामिछानेले जानकारी दिए ।

उनका अनुसार काँग्रेसले बजेटमा गरिएको विभेदको विरोधमा आन्दोलन गर्ने र माग सम्बोधन नभएसम्म महानगरमा तालाबन्दी गर्नेछ ।