नेदरल्याण्ड्स र इटली फिफा महिला विश्वकपको क्वाटरफाइनलमा

नेदरल्याण्ड्सले इटलीसँग, अमेरिकाले आयोजक फ्रान्ससँग र स्वीडेनले जर्मनीसँग क्वाटरफाइनल खेल्नेछन्

एजेन्सी
असार १२, २०७६, बिहीवार

नेदरल्याण्ड्स र इटली महिला विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले जापानलाई २–१ र इटलीले चीनलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थानमा सुरक्षित बनाएका हुन् । नेदरल्याण्ड्सको जितमा दुवै गोल लिक मार्टेन्सले गरेकी हुन् ।

जापानका लागि युइ हसेगवाले एक गोल फर्काइन् । १७ औँ मिनेटमा मार्टेन्सको गोलबाट नेदरल्याण्ड्सले सुरुवाति अग्रता लियो । ४३ औँ मिनेटमा हरेगवाले जापानका लागि गोल फर्काएपछि खेलमा १–१ को बराबरी भयो । खेलमा ९० औँ मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टी पायो । मार्टेन्सले त्यसलाई सदुपयोग गरेर नेदरल्याण्ड्सका लागि विजयी गोल गरिन् ।

जापान अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो । मंगलबार राति नै भएको अर्को खेलमा जित निकालेको इटाली पनि अन्तिम ८ मा पुगेको छ । इटालीले चीनलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि–क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

चीनले इटलीसँग २–० गोलको पराजय ब्यहोरेको हो । क्वाटरफाइनलमा इटलीले नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्नेछ । खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको शुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् । त्यसपछि कुनैपनि गोल हुन सकेन र इटाली अन्तिम आठमा पुग्यो ।

यसअघि, साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन् । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा पुगेको हो । अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत दुई गोल गरिन् ।

स्पेनकी जेनिफर हेर्मोसोले एक गोल फर्काइन् । क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ ।

उता, क्यानडालाई १–० ले हराउँदै स्वीडेन पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्नेछ ।