
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको नयाँ कार्यसमितिले पदस्थापन गरेको छ।
नव निर्वाचित अध्यक्ष मानबहादुर घर्तिमगर (एमबी आस्था) को नेतृत्व कार्यसमितिको टिमले पदस्थापन गरेको हो।
नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यसमितिको पदस्थापन गराएका हुन्।
गत विहीबार मञ्चको तेस्रो अधिवेशन तथा छैटौं साधारणसभाले मानबहादुर घर्तिमगर (एमबी आस्था) अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन भएको थियो।
जसको खुल्ला उपाध्यक्षमा राजाराम पौडेल, समावेशी उपाध्यक्षमा उमा आलेमगर, महासचिवमा परशुराम शर्मा आचार्य, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी छन्।
त्यसैगरी, सदस्यहरुमा गीता रानामगर, कृष्ण दवाडी, चेतबहादुर थापा ‘प्रवीण’, बसबहादुर शेर्पा ‘वसन्त’, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल छन्।
अध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव र सचिव पदका लागि निर्वाचन भएको थियो।
बाँकी, खुल्ला उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए।
अध्यक्षमा मानबहादुर घर्तिमगर (एमबी आस्था) र सुरज श्रेष्ठ, समावेशी उपाध्यक्षमा उमा आलेमगर र राधिका शर्मा कँडेल, महासचिवमा परशुराम शर्मा आचार्य र लक्ष्मी जिसी ‘पल्पसा’ तथा सचिवमा राजु गिरी र कविता घर्तिमगर चुनावी मैदानमा थिए।
कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामाजिक संजाल प्रयोग संचालनको निम्ति यसको विधेयक पास गरि सकेको बताए।
मन्त्री गुरुङले उल्लेख गरे, ‘संचार क्षेत्रमा सबै भन्दा छिटो गर्नुपर्ने काममध्ये यो आवश्यक थियो। साइवर सुरक्षा अर्को आवश्यकता रहेको छ। साइबर सुरक्षा ऐन समेत छिट्टैल्याइँदैछ। सूचनाको हक ग्यारेन्टी हुनुपर्छ। जनताले सही, सत्य र ताजा समाचार प्राप्त गर्न पाउनुपर्छ। व्यापारिक संचार माध्यमहरुले भने शुसासन, जनताको सूचनाको हक तथा प्रेस स्वतन्त्रताको बिषयमा साथै सरकारलाई उत्तरदाहित्व बनाउने बिषयमा खासै मतलव गर्दैनन्। नेपाल टेलिभिजन र रेडियो नेपाल पब्लिक सर्भिस ब्रोकास्टिङ मोडलमा लगिएको छ।’
मञ्चको अध्यक्ष पदको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी सुरज श्रेष्ठले मञ्चको संस्थागत विकास र हकहितको लागि सहकार्य गर्न तयार रहेको बताए।
मञ्चका नव निर्वाचित अध्यक्ष मानबहादुर घर्तिमगर (एमबी आस्था) ले खेल पत्रकारसहित मञ्चको बृद्धि विकासमा इट्टा थप्ने काम गर्ने प्रतिबद्धता जनाए।
यसअघि, मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बराल नेतृत्वको टिमले सुरु गरेको पत्रकार कल्याणकारी कोषमा १ बर्षमै १० लाख पु-याउने लक्ष्य राखेको थियो।
पहिलो बैठकमै अध्यक्ष (एमबी आस्था) ले आफ्नो व्यक्तिगत २५ हजार पत्रकार अक्षयकोषमा सहयोग गर्ने घोषणा गरेका छन्।
मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन कमिटिका संयोजक केशवराज बराल, सदस्य केशव पाठकलगायतले वोलेका थिए।