नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्माले ‘बी प्लस’ ग्रेडमा यस वर्षको एसइई उत्तीर्ण गरिन्

उनले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन्, ‘आज पहिलो पटक महसुस गरे फोन घरी घरी बज्दा कस्तो हुन्छ !!’

नारायण शाही
असार १२, २०७६, बिहीवार

पोखरा । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एसइई परीक्षामा ‘बी प्लस’ उत्तीर्ण भएकी छन् ।

२०७५ सालको चैतमा उनले परीक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइई परीक्षामा ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी हुन् ।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ९ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो । एसइई परीक्षा उत्तीर्ण भएसँगै उनलाई उच्चशिक्षा अध्ययनका लागि बाटो खुलेको छ । एसइईमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताउँदै आएकी छन् । एसइई पास हुँदा उनी निकै खुसी छिन् ।

यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइई मा सहभागी भएका थिए ।

करिश्माले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन्, ‘आज पहिलो पटक महसुस गरे फोन घरी घरी बज्दा कस्तो हुन्छ !!’

एसइई परीक्षाको नतिजा आउनुभन्दा एक दिन अगाडि आफ्नो फेसबुकमा करिश्माले स्टाटस लेखेकी थिइन्, “प्रेम संसार आफ्नो बनाउन प्रयोग गरिने अमुल्य साधन हो, आफ्नो स्वार्थ सिद्ध गर्ने साधन होइन” ‘भन्ने जुन शब्द तिमि भनथ्यौ, म तेही आत्मसात गरेर हिडेको छु ।
तिम्रो मायाका शब्दहरुको लागि धन्यवाद ।
जीवन हरेक क्षण परिक्षा हो ।
चाहे त्यो सानो परिक्षा होस या ठुलो परिक्षा

एसइईको सफलतासँगै करिश्मालाई बधाई र शुभकामनाका सन्देशहरु ओइरो लागेको छ ।

अभिनेत्री नम्रता श्रेष्ठले फेसबुकमा ‘गुड लक माई डार्लिङ क्युटी पाई फर योर सङ रिलिज जाइरा’ लेखेकी छन् ।

‘कङ्ग्राच्युलेसन दिज्यू, वी प्राउड अफ यु,’ नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौलाले अंग्रेजीमा लेखेकी छन ।

नेपालकी चर्चित कोरियोग्राफर जयनसुब्बा मानान्धरले लेखेकी छन्, ‘कङ्ग्राच्युलेसन।’

अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् । यद्यपि, उनले नृत्य गरेको फिल्म ‘जात्रै जात्रा’ हाल प्रदर्शनमा छ । तर, उनले फिल्ममा अभिनय भने गरेकी छैनन् । अहिले उनी अफर आएका फिल्म पनि नकार्दै आइरहेकी छिन् । उनी अब आफ्नी छोरी कवितालाई हिरोइन बनाउने तयारीमा छिन् ।