आइसीसी एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल खस्यो 

आइसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ, नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ, यसअघि नेपाल १४ औं स्थानमा थियो, टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा छ

एजेन्सी, जनसम्मत
असार १३, २०७६, शुक्रबार

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद, आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आइसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा छ ।

आइसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स, युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो । गत माघमा भएको उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । युएईसँगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन ।

वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा भारत, दोस्रोमा इङ्ल्याण्ड र तेस्रो स्थानमा न्यूजिल्यान्ड छ । चौथोमा अष्ट्रेलिया र पाँचौमा दक्षिण अफ्रिका रहेको छ । एकदिवसीय खेलाडी वरियतामा नेपालका कुनैपनि खेलाडीले शीर्ष सयभित्र स्थान बनाउन सकेका छैनन् ।