असार १४ गते राष्ट्रव्यापी बृहत वृक्षरोपण गरिदैं

शनिबार राष्ट्रव्यापी अभियानकै रुपमा देशभरि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिदै, निजी घर, जग्गा र सार्वजनिक स्थलमा कम्तिमा २ वटा विरुवा रोप्न प्रम ओली र प्रचण्डको आह्वान

जनसम्मत
असार १३, २०७६, शुक्रबार

पोखरा । भोलि असार १४ गते राष्ट्रव्यापी रुपमा बृहत् वृक्षरोपण गरिदैछ ।

नेपाल सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने र आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । सरकारको सो निर्णय अनुसार भोलि शनिबार राष्ट्रव्यापी अभियानकै रुपमा देशभरि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिदै छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक संयुक्त विज्ञप्ति जारी गरी आफ्ना संपूर्ण नेता तथा कार्यकर्ता र आम नागरिकलाई भोलीको वृक्षरोपण अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

विज्ञप्तिमा उनीहरुले भनेका छन् ‘जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सिर्जना गरिरहेका प्रतिकूल प्रभावहरुलाई न्यूनीकरण गर्न बोटविरुवाहरु एवं वन जंगलको योगदान कति महत्वपूर्ण हुन्छ भन्नेबारे कमरेडहरु जानकार नै हुनुहुन्छ । राष्ट्रव्यापी वृक्षारोपण अभियानमार्फत् वातावरणको क्षेत्रमा मात्रै होइन, स्थानीय समुदाय र आमजनताको आय वृद्धिमा समेत सकारात्मक योगदान पु¥याउन सकिन्छ । यस अभियानलाई आमजनताको समेत व्यापक सहभागितामा भव्यताका साथ सफल पार्नु आवश्यक छ । त्यसैले असार १४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आमकार्यकर्ता, पार्टी सदस्य एवं समर्थक–शुभचिन्तक सबैलाई यस वृक्षारोपण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन, आफ्नो निजी घर, जग्गा र सार्वजनिक स्थलमा समेत न्यूनतम २ वटा विरुवा रोप्न, आफूले रोपेका विरुवाहरुको भविष्यमा पनि आवश्यक हेरचाह गर्न र यस महत्वपूर्ण अभियानलाई सघाउ पु¥याउन अनुरोध छ ।’