प्याराग्लाइडिङका युकेश र महिला फुटबलकी सावित्रा उत्कृष्ट पल्सर वर्ष खेलाडी ( हेर्नुहोस, फोटो फिचर समेत )

एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया स्पोर्ट्स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित, पाराग्लाइडिङका योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक, ‘टिम अफ द इयर’को उपाधि पाराग्लाइडिङलाई, रोहित चन्दलाई ‘पल्सर स्पेशल अवार्ड’, अजितकुमार यादवलाई ‘युथ प्लेयर अफ दि इयर’, रेश्मा भण्डारीलाई ‘पिपुल्स च्वाइस’ अवार्ड, दृष्टिविहिन क्रिकेटर मनकेसी चौधरीलाई ‘पारा एथ्लिट अवार्ड’, पाकिस्तानी खेल पत्रकार अम्जद अजिज मलिकलाई ‘अन्तर्राष्ट्रिय खेल पत्रकारबाट सम्मान गरियो ।

नारायण शाही
असार १७, २०७६, मंगलवार

पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र महिला फुटबलकी सावित्रा भण्डारी पल्सर स्पोर्ट्स अवार्ड–२०७५ मा उत्कृष्ट वर्ष खेलाडी बनेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार आयोजना गरेको १६ औ संस्करणको अवार्ड कार्यक्रममा युकेशले उत्कृष्ट पुरुष खेलाडीको पल्सर स्पोर्ट्स अवार्ड २०७५ को अवार्ड जितेका हुन् ।

यस अवार्डको लागि जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फमा शुक्रबहादुर राई मनोनयनमा परेका थिए ।

युकेश, इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टका रजत पदक विजेता हुन् । एसियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँच मध्येका प्रमुख खेलाडी युकेशले डेब्यु खेलमै सर्वाधिक स्कोर गरेका थिए ।

त्यसैगरी, महिला फुटबल खेलाडी सावित्रा भण्डारीले पल्सर स्पोर्ट्स अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् ।

यस अवार्डको लागि जुडोकी मनिता श्रेष्ठ प्रधान, क्रिकेटकी सिता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र भलिबलकी सरस्वती चौधरी मनोनयनमा परेका थिए ।

भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी सावित्राले भारतलाई इतिहासमा पहिलो पटक २–१ ले हराउँदा दुबै गोल गरेकी थिइन् ।

सावित्राले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउनमा मुख्य भूमिका खेलेकी थिइन् । सावित्रा, विराटनगरनमा सम्पन्न महिला साफ च्याम्प्यिनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन् । सावित्रा, महिला फुटबल लिग २०७५ मा सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेकी थिइन् ।

एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया स्पोर्ट्स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । रोकायाकै प्रशिक्षणमा रहेका थुप्रै नेपाली खेलाडीहरुले हालसम्म पनि आफ्नो प्रदर्शनलाई उच्च राखेका छन् ।

पाराग्लाइडिङका योगेश भट्टराईले पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट प्रशिक्षक अवार्ड जिते । उत्कृष्ट प्रशिक्षक विधामा एथ्लेटिक्सका धनिराम चौधरी, फुटबलका हरि खड्का, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र बिष्ट मनोनयनमा थिए ।

२० बर्षपछि नेपाललाई एसियाली खेलकुदमा रजत पदक दिलाउँदा मुख्य प्रशिक्षक रहेका योगेशले नेपालमा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपमा नेपाली टोलीलाई काश्य पदक जिताउन सफल भएका थिए । दक्षिण कोरियामा भएको प्रि–वल्र्डकप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक थिए ।

स्पोर्ट्स अवार्डको ‘टिम अफ द इयर’को उपाधि पाराग्लाइडिङले जितेको छ । एसियाली खेलकुदमा पदकविहीन बनेको नेपालले प्याराग्लाइडिङबाट रजत पदक जितेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्द ‘पल्सर स्पेशल अवार्ड’बाट सम्मानित भए । रोहितको अनुपस्थितिमा दाजु रविन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए । इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका चन्द गत वर्ष आफ्नो क्लब पर्सिजा जकार्तालाई लिग उपाधि जिताउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

एथ्लेटिक्सका अजितकुमार यादवले स्पोर्टस अवार्डको ‘युथ प्लेयर अफ दि इयर’को अवार्ड जिते । युथ अवार्डका लागि मनोनयनमा क्रिकेटका ललितनारायण राजवंशी, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जलीकुमारी योन्जन र कराँतेका विजय श्रेष्ठ थिए ।

अजितकुमार, हङकङमा सम्पन्न तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसीपको ३ हजार मिटर दौडका कीर्तिमानी स्वर्ण विजेता खेलाडी हुन् । उनले कतारमा भएको २३ औं एसियन एथ्लेटिक्स च्याम्पियनसीपमा राष्ट्रि«य कीर्तिमानमा सुधार गरेका थिए । राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर र १५ सय मिटर दौडमा स्वर्ण विजेता अजितकुमारले काठमाडौं म्याराथन ५ किमी खुला रोड रेस, बन्दीपुर रोड रेस ८ किमी दौड र मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण पदक जितेका थिए ।

महिला भलिबलकी रेश्मा भण्डारीले स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड उपाधि जितिन् । यस उपाधिका लागि फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारिरीक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने मनोनयनमा थिए । रेश्माले कूल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सीमित रहिन् ।

 

दृष्टिविहिन क्रिकेटर मनकेसी चौधरीले स्पोर्ट्स अवार्डको पारा एथ्लिट अवार्ड उपाधि जितिन् । पाकिस्तानमा भएको मैत्रीपूर्ण सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै मन केसी ‘प्लेयर अफ द सिरिज’ बनेकी थिइन् ।

पाकिस्तानी खेल पत्रकार अम्जद अजिज मलिक स्पोर्टस अवार्डको अन्तर्राष्ट्रिय खेल पत्रकारबाट सम्मानित भएका छन् । एआइपीएस एसियाका महासचिव समेत रहेका मलिक पाकिस्तान स्पोर्ट्स राइटर्स एशोसिएसनका अध्यक्ष समेत हुन् ।

 

तस्वीर : सुदर्शन रञ्जित