
यु–१९ अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय अभ्यास क्रिकेटको दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको छ।
अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो पटकको युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको हो।
काठमाण्डौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपाल १ रनले पराजित बन्यो।
अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १६७ रनमात्र बनाउन सक्यो।
नेपालका साहिल पटेलले सर्बाधिक ६४ रन बनाए।
नेपालले १२६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो।
अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले समान २/२ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १६८ रन बनाउँदा अलआउट भयो।
अफगानिस्तानका कप्तान महबूब खानले सर्बाधिक ५८ रन बनाए।
नेपालका सन्तोष यादवले ३ विकेट लिए।
त्यस्तै, सिबरिन श्रेष्ठ र विपिन शर्माले समान २/२ विकेट लिए।
योसँगै अफगानिस्तानले ३ खेलको श्रृंखलामा एक खेलअघि नै जितेको छ।
पहिलो खेलमा अफगानिस्तानले नेपाललाई १३० रनले हराएको थियो।
श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ।
यही महिना नेपालमै हुने आइसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग श्रृंखला खेलिरहेको हो।
१९ वर्षमुनिको विश्वकप छनोट पनि काठमाण्डौंकै मूलपानीमै हुनेछ।
छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन्।