
काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा रोमाञ्चक जीत निकालेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ३ महत्वपूर्ण अंक बटुलेको छ।
खेलको अन्तिम समयसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन्।
तर, ९० औं मिनेटमा अमाडोउ डिओपले निर्णायक गोल गर्दै काठमाडौंलाई रोमाञ्चक जित दिलाए।
जीतसँगै काठमाडौं तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
उनले भिन्सेन्ट कोजिएलोसँग वान–टु पास खेल्दै बक्सको बाहिरबाट गरेको प्रहारले जाली चुम्दा बुटवलका कीपर दीप कार्की निरिह बने।
डिओपको यो लिगमा दोस्रो गोल हो।
उनले उद्घाटन खेलमा ललितपुर सिटीविरुद्ध पनि गोल गरेका थिए।
खेलको अधिकांश समय बुटवलका गोलकीपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनले काठमाडौंलाई निराश बनाएको थियो।
बुटवलका सुमन श्रेष्ठले ७१ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरएपछि १० खेलाडीमा सीमित भएको थियो।
त्यसपछि काठमाडौंले त्यसको राम्रो फाइदा उठायो।
सुमन श्रेष्ठले खेलमैदानमा अनुशासन गुमाउँदै रेफ्रीसामु रातो कार्ड खेपेका थिए।
खेलको दोस्रो हाफमा १० मिनेट इन्जुरी टाइम थप गरिएको थियो।