
नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, संघसंस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ।
आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता गरेको हो।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाईमा पुर्याउन स्पोट्र्स अवार्डले महत्वपूर्ण कदम चालेको औंल्याए।
उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्नेमा आशावादी रहेको सुनाए।
मञ्चका अध्यक्ष एमबी आस्थामगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको उल्लेख गरे।
टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रियस्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्दत गरेको आस्थामगरले बताए।
गण्डकी प्रदेशभित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल संघ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको उनले औंल्याए।
आफूहरू अवार्डको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध प्रगाढ रहने बताए।
अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यसअघि नै प्रायोजन गरिसकेको छ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहने छ।