४ देशीय टी–२० क्रिकेट: नेपालको दोस्रो जीत

कुवेतलाई नेपालले ६ विकेटले हरायो

जनसम्मत
चैत्र २८, २०८१, बिहीवार

४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले दोस्रो जीत निकालेको छ।

हङकङमा भइरहेको टी–२० श्रृंखलामा नेपालले आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जीत निकाल्न सफल भएको हो।

नेपालले पहिलो खेलमा हिँजो (बुधबार) कतारलाई ८ विकेटले हराएको थियो।

योसँगै शीर्ष स्थानमा रहेको नेपालले ४ अंक पुर्‍याएको छ।

अब, नेपालले लिग चरणको अन्तिम खेल पर्सि (शनिवार) घरेलु टोली हङकङसँग खेल्नेछ।

कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए।

आसिफ शेखले ५३ रन जोडे।

कुवेतका यासिन पटेलले २ विकेट लिए।

त्यसअघि, मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।

कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए।

मिट भावसारले ३५ रन जोडे।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए।