
२० औं संस्करणको फेवा नव वर्ष महोत्सव–२०८२ को संपूर्ण तयारी पूरा भएको छ।
होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए।
उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए।
बाजा, भजन र रत्यौलीका कार्यक्रमसमेत महोत्सवमा समेटिने जनाइएको छ।
पोखराको खहरेचोकदेखि ड्यामसाइडबीचको सडकमा आयोजना गरिने महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहनेछन्।
महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन्।
अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहनेछन्।
संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ।
यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ।
यसैगरी, स्थानीय प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामानहरुको प्रदर्शनी, स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोकदोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछन्।
महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिनेछन्।
फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.लि, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन्।
इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन्।