
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्स र झापा एफसीले बराबरी खेलेका छन्।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डोर्स र झापा एफसीले १–१ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन्।
दुबै टोलीले दोस्रो हाफमा १–१ गोल गरेका हुन्।
पोखराका लागि स्टेफेन समिर बिनोङले गोल गरे।
झापाका लागि लाजार आर्सिकले गोल फर्काए।
दोस्रो हाफको ५२ औँ मिनेटमा पोखरा थन्डर्सले गोल गर्दै अग्रता लियो।
पोखराका लागि स्टेफेन समिर बिनोङले गोल गरेका हुन्।
आयुष घलानले दिएको पासलाई जो आइडुले छाडेका थिए।
उक्त बललाई बिनोङले बक्सबाट प्रहार गर्दा गोलकीपर एञ्जल श्रेष्ठले रोक्ने कुनै अवसर नै पाएनन्।
खेलको ६५ औँ मिनेटमा झापाले बराबरी गोल फर्कायो।
झापाका लागि लाजार आर्सिकले शानदार फ्रिकी गोल गर्दै टोलीलाई बराबरीमा फर्काए।
एकराज बुढाथोकीले उज्जवल राईलाई करिब २५ यार्डमा लडाएपछि झापाले फ्री–किक पाएको थियो।
पहिलो बारको कुना च्याप्दै लाजारले प्रहार गरेको फ्री–किकलाई पोखराका गोलकीपर प्रिसोले बचाउन सकेनन्।
त्यसपछि, दुवै टिमले प्रयासहरू गरेपनि स्कोर भने गर्न सकेनन्।
पोखरा थन्डर्सले ५ खेलबाट ५ अंक बटुल्दै लिगको चौथो स्थानमा छ।
४ खेल मात्र खेलेको झापाले भने ४ वटै खेलमा बराबरी खेल्दै ४ अंकसहित लिगको छैटौं स्थानमा छ।
आज (शनिबार) को दोस्रो खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच हुनेछ।