समर युनिभर्सियाड तेक्वान्दोमा सहभागी टोलीको बिदाई

जुलाई ३ देखि १४ तारिखसम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाउनेछ

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागी ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले सफलताको कामना गर्दै खेलाडीहरुको बिदाई गरेका हुन् ।

तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका कीर्तिमानधारी दीपक विष्टले गरेका छन् । विष्टले प्रशिक्षकको भूमिकासमेत निर्वाह गर्ने जनाइएको छ ।

यस्तै, खेलाडीमा सक्षम कार्कीले ८० केजी तौल समूहमा, उमेशराज भण्डारीले ६२ केजी तौल समूहमा, नम्रता तुलाधारले ६२ केजी तौल समूहमा, अश्मिता खड्काले ४९ केजी तौल समूहमा र पार्वती गुरुङले एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।

जुलाई ३ देखि १४ तारिखसम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाउनेछ । ३० औं संस्करणसम्म आइपुग्दा नेपालले पाँचौ पटक सहभागिता जनाउँदै छ ।

ओलम्पिककै झझल्को दिने ३० औं समर युनिभर्सियाडमा विश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढी खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले यसअघि ताइवानमा भएको २९ औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ, टेनिस, टेवलटेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।