४ देशीय टी–२० क्रिकेट श्रृंखला: फाइनलमा नेपाल र कुवेत खेल्ने

शीर्ष २ मध्ये नेपाल ५ अंकसहित पहिलो स्थान र कुवेत ४ अंकसहित दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो

जनसम्मत
चैत्र ३०, २०८१, शनिबार

४ देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन्।

हङकङमा भइरहेको टी–२० श्रृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र घरेलु हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे।

नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो।

लिग चरणको ३ खेलमा २ जीत र १ खेल नतिजाविहिन भएपछि नेपाल ५ अंकसहित फाइनल खेल्ने भएको हो।

त्यसैगरी, लिग चरणमा १ खेल मात्र जितेको घरेलु हङकङको ३ अंक छ।

यसअघि, कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेट रन रेटका आधारमा फाइनल पुगेको हो।

हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो।

हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो।

त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भयो।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो।

दोस्रो खेलमा कुवेतलाई ६ विकेटले हराएको थियो।

टी–२० श्रृंखलाको फाइनल खेल भोलि (आइतबार) हुनेछ।

तेस्रो र चौथो स्थानको लागि पनि भोलि (आइतबार) नै खेल हुनेछ।