
नेपाली काँग्रेस केन्द्रीय सदस्य उदयशम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको औंल्याएका छन्।
नेपाल पत्रकार मञ्चको आज (शनिबार) ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका जबराले भने, ‘नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेकोमा त्यसको सराहना गर्दछु।’
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासंघ सधैँ क्रियाशील रहने प्रतिबद्धता जनाए।
सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताइन्।
राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा चटौतले जोड दिइन्।
मञ्चका अध्यक्ष युवराज विद्रोहीले कुनैपनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए।
त्यस अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतलाई प्रदान गर्यो।
यस्तै, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गर्यो।
त्यसैगरी, गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई प्रदान गर्यो।
नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटालाई प्रदान गरेको छ।
डा.चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार घनश्याम श्रेष्ठलाई प्रदान गरेको छ।
बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टंककला तिमल्सिनालाई प्रदान गरेको थियो।