
४ देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो।
नेपालका बसिर अहमदले सर्वाधिक ८० रन बनाए।
नन्दन यादवले ३७ रन जोडे।
नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरे।
कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो।
कुवेतका रविजा सान्दरुवानले सर्वाधिक ६३ रन बनाए।
नेपालका सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए।
प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा भिडेका थिए।
यस्तै, यस प्रतियोगितामा घरेलु हङकङ तेस्रो बनेको छ।
आज (आइतबार) नै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रनमात्रै बनाउन सक्यो।