लक्की चौधरी, फोनिज अध्यक्षमा सर्वसम्मत निर्वाचित

१५ जना पदाधिकारीसहित ४९ सदस्यीय नयाँ कार्यसमितिको गठन

जनसम्मत
चैत्र ३१, २०८१, आइतबार

लक्की चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

लुम्बिनीमा सम्पन्न फोनिजको आठौं संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्षका अर्का दावेदार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका हुन्।

चौधरी, गोरखापत्र अनलाइनका निमित्त सम्पादक पदमा कार्यरत छन्।

धनगढी–५, कैलाली निवासी चौधरी विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध छन्।

चौधरी, गोरखापत्र संस्थानको संचालक समिति सदस्यसमेत हुन्।

यसअघि, चौधरी फोनिजको वरिष्ठ उपाध्यक्षसमेत थिए।

समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल) मा अध्ययनरत छन्।

फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना निर्वाचित भएकी छन्।

महिला उपाध्यक्षमा अन्जना शिल्पकार निर्वाचित भएकी छन्।

महासचिवमा समिर बलामी निर्वाचित भएका छन्।

त्यसैगरी, अल्पसंख्यक सचिवमा लिला दराई सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, खुला उपाध्यक्षमा विश्वराज तामाङ निर्वाचित भएका छन्।

कोषाध्यक्षमा अर्जुन तामाङ निर्वाचित भएका छन्।

३ सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ निर्वाचित भएका छन्।

महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिएकी छन्।

सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको छ।

१५ जना पदाधिकारीसहित ४९ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ।