
राजा फर्काउने अभियानमा लागेका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई प्रहरीले पक्राउ गरेको छ।
प्रसाइँलाई प्रहरीले शुक्रबार काठमाडौं पुर्यााएको छ।
उनीहरूलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्याइएको हो।
प्रसाइँसहित उनका निजी अंगरक्षक दीपक खड्कासमेत प्रहरी नियन्त्रणमा छन्।
उनीहरुलाई सरकारी वकिलको कार्यालय हुँदै काठमाण्डौं जिल्ला अदालतमा लगिएको थियो।
उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याएर अदालत लगिएको हो।
प्रहरीलाई प्रसाइँमाथि १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
राज्यविरुद्धको कसुरमा प्रसाइँलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको छ।
प्रसाइँ क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको जनाइएको छ।
प्रसाइँका बडीगार्ड दीपक खड्कालार्ई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ।
प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिँसा मच्चाएर सोही वेलादेखि फरार दुर्गा प्रसाइँ र उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर शुक्रवार काठमाडौं ल्याएको थियो।
जहाँ उनीहरूलाई १२ दिन हिरासतमा बस्नुपर्ने भएको छ।
गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा २ जनाले ज्यान गुमाएका छन्।
यसअघि, उक्त प्रदर्शनपछि पक्राउ परेका राप्रपाका नेताहरु धवलशमशेर जबरा र रवीन्द्र मिश्रसहित २ पटक गरेर २० दिनका लागि हिरासतमा छन्।