
आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ।
काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपालले युएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो।
त्यसपछि, खेल सुरू हुन नसकेपछि नेपाल डीएसएल मेथडका आधारमा विजयी भएको हो।
युएईका यकिन किरन रेले नटआउट सर्वाधिक १०४ रन बनाए।
नेपालका सन्तोष यादव र अशोक धामीले २/२ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो।
केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो सुरू भएको खेल ४० ओभरमा झारिएको हो।
नेपालका कप्तान नरेन भट्टले सर्वाधिक ६७ रन बनाए।
युएईका उद्दीश सुरीले ३ विकेट लिए।
यस्तै, अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको छ।
एशिया छनोटमा नेपालसहित युएई, अफगानिस्तान, हङकङ र ओमान सहभागी छन्।
छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने यु–१९ को विश्वकपमा छनोट हुनेछ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन्।
नेपालले भोलि (सोमबार) ओमानसँग खेल्नेछ।
त्यसैगरी, नेपालले बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ।