साविक विजेता ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्वाटरफाइनलमा

जितपछि ब्रिगेडले २ खेलबाट ६ अंक जोडेको छ

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । साविक विजेता ब्रिगेड ब्वाईज क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यसअघि, भएको खेलमा ब्रिगेडले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेसँगै समूह ‘सी’ बाट क्वाटरफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्रिगेडलाई जित दिलाउन रोशन रानामगरले २ गोल गरे । टोलीको लागि बृजेश चौधरीले १ गोल गरे । जितपछि ब्रिगेडले २ खेलबाट ६ अंक जोडेको छ । जावलाखेलले अंक जोड्न सकेको छैन ।

यस समूहमा पुलिसको पनि २ खेलबाट ६ अंक रहेको छ । बिहिबार पुलिसले सरस्वती युथ क्लबलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको थियो । पुलिसलाई जित दिलाउन सन्जु सेनले ह्याट्रिक गरे ।

यस्तै, रबिन राई र एन्सन राईले एक/एक गोल गरे । सरस्वतीका लागि पुलिसका बिजेन राईले आत्मघाती गोल गरेका थिए । यस समूहमा सरस्वतीले पनि २ खेलमा अंक जोड्न सकेको छैन ।