
आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीतको नतिजा निकालेको छ।
काठमाण्डौंको जोरपाटीस्थित माथिल्लो मूलपानी मैदानमा आज (सोमबार) भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेट्टायो।
नेपालका निरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए।
त्यसैगरी, शाहिल पटेलले ४२ रन जोडे।
ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो।
ओमानका जीत व्रजेश शाहले सर्वाधिक ५२ रन बनाए।
नेपालका युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए।
नेपालले पहिलो खेलमा हिँजो (आइतबार) युएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो।
यस्तै, आज (सोमबार) नै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ।
अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो।
एशिया छनोटमा नेपालसहित ओमान, युएई, अफगानिस्तान र हङकङ सहभागी छन्।
छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन्।