नागरिकले नि:शुल्क प्राप्त गर्ने स्वास्थ्य सेवासम्बन्धी विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले प्राप्त गर्ने नि:शुल्क उपचार स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखेको हो

जनसम्मत
चैत्र २९, २०८१, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले नि:शुल्क रूपमा प्राप्त गर्ने सेवाहरूको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले नि:शुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको हो।

मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा नि:शुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि उल्लेख छ।

मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार नि:शुल्क उपलब्ध गराइरहेको छ।

यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा नि:शुल्क दिइरहेको छ।

यसका लागि सेवा प्राप्त गर्ने स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने नि:शुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न निर्देशन दिएका थिए।

सोही आधारमा मन्त्रालयले विस्तृत विवरण खुलाएको हो।