यु–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जीत

आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो

जनसम्मत
वैशाख ३, २०८२, बुधबार

आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत निकालेको छ।

काठमाण्डौंको जोरपाटीस्थित तल्लो मूलपानी मैदानमा आज (बुधबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो।

हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेट्टायो।

नेपालका शाहिल पटेलले सर्वाधिक ४२ रन बनाए।

कप्तान नरेन भट्टले ३९ रन थपे।

निरजकुमार यादवले २३ रन जोडे।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो।

हङकङका कप्तान शिव माथुरले सर्वाधिक ६३ रन बनाए।

नेपालका युवराज खत्रीले ४ विकेट लिए।

विपिनप्रसाद शर्माले ३ विकेट लिए।

सन्तोष यादवले २ विकेट लिए।

अशोक धामीले १ विकेट लिए।

नेपालले पहिलो खेलमा युएईलाई ५ रनले हराएको थियो।

त्यसैगरी, दोस्रो खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो।

अब, नेपालले लिग चरणको चौथो तथा अन्तिम खेलमा आउँदो शनिवार अफगानिस्तानसँग खेल्नेछ।

प्रतियोगितामा नेपालसहित, युएई, ओमान, हङकङ र अफगानिस्तान गरी ५ टोलीको प्रतिस्पर्धा छ।

शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ।

प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा जारी छ।