संकटाले पहिलो जित निकाल्यो

ललित स्मृति यु–१८ च्याम्पियनसीप

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । संकटा क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा संकटालाई जित दिलाउन विशाल शाही, अबिम शाही र राकेश गुरुङले एक/एक गोल गरे । च्यासलका धिरज मगरले एक गोल फर्काए ।

जितसँगै समूह ‘ए’ को संकटाले ३ खेलबाट ४ अंक जोडेको छ । यसअघि, पहिलो खेलमा संकटाले मछिन्द्र क्लबसँग ४–० को हार व्यहोर्दा एनआरटीसँग १–१ गोलको बराबरी खलेको थियो ।

च्यासलको यो दोस्रो हार हो । च्यासलले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा मछिन्द्रको २ खेलबाट ३ अंक रहेको छ । यस्तै, एनआरटी र हिमालयन शेर्पाको २ खेलबाट ४ अंक रहेको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्ने छन् ।

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नक आउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।